विदेशको पसिनाले सिकाएको पाठ :गाईपालनबाटै मनग्य आम्दानी

झापा,

चैत ८ – नेपालमा रोजगारीको संभावना नदेखेर दिनहुँ हजारौं नेपाली युवा खाडी देशमा गइरहेका छन् । नेपालका सबै युवाले खाडीमा मात्रै पसिना बगाएका छैनन् केही यस्ता युवा छन जसले नेपालमा नै काम गरेर विदेशको भन्दा धेरै कमाएका छन् । यस्तो काममा प्राय गरी विदेश गएर पसिना बगाएर फर्केका युवा नै धेरै सफल भएको देख्न पाइन्छ ।

झापाको कनकाई नगरपालिका सुरुंगाका ४२ वर्षीय डण्डीपाणि गौतम स्वदेश फर्किएपछि पशुपालन व्यवसायबाट आत्मनिर्भर बन्नुभएको छ । युएईमा सात वर्ष श्रम गरेर गौतम स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किनुभएको हो ।

‘स्वदेशमै केही गर्नुपर्छ भनेर आएँ,’ उहाँले भन्नुभयो । अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थालेको गौतम बताउनुहुन्छ । उहाँले रु २५ लाखको लागतमा प्रतीक पशुफार्म दर्ता गरेर गाईपालन गर्दै आउनुभएको छ । फार्ममा हाल ३० वटा साना–ठूला गाई छन् । दैनिक २०० लिटर दूध उत्पादन हुन्छ ।

‘गोठबाटै प्रतिलिटर रु ६० मा दूध बिक्री हुन्छ,’ उहाँले भन्नुभयो । गौतमले १२ बिघा जमिनमा घाँस, मकैलगायत खेती गर्दै आउनुभएको छ । दूध, गाईको गोबर र बाच्छा–बाच्छी बिक्री गरेर उहाँले मासिक रु एक लाख २० हजारसम्म बचत गर्दै आउनुभएको छ ।