spot_img

नेपाली कृषि प्रशोधन र उद्योगमा भारतीय लगानी विस्तार गर्नुपर्नेमा जोड

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको कृषि प्रशोधन, पर्यटन र उत्पादनमूलक क्षेत्रमा अपेक्षित रूपमा भारतीय लगानी भित्रिन नसकेको बताएका छन्। नयाँदिल्लीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख लगानीकर्ता भए पनि लगानीको परिमाण अझै बढाउनुपर्ने आवश्यकता औँल्याए। नेपालले पछिल्लो समय लगानीमैत्री वातावरण बनाउन दर्जनौँ कानुन तथा कार्यविधिहरू संशोधन गरे पनि व्यवहारिक रूपमा यसको प्रभाव अझै देखिन बाँकी रहेको उनको भनाइ थियो।

नेपालले हाल एक सय दुईवटा उद्योगमा स्वचालित प्रक्रियामार्फत विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था मिलाएको छ भने ५९ वटा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ। अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत्, कृषि प्रशोधन, सूचना प्रविधि, पर्यटन र औषधी उत्पादनका क्षेत्रमा भारतीय लगानीकर्ताहरूका लागि ठूलो सम्भावना रहेको स्पष्ट पारे। नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने जुन ऐतिहासिक सहमति भएको छ, त्यसको व्यावहारिक कार्यान्वयनबाट मात्रै पनि ऊर्जा क्षेत्रको मुहार फेरिन सक्ने उनले बताए।

कृषि तथा औद्योगिक उत्पादनको निर्यातका क्रममा नेपाली व्यवसायीले भोगिरहेका अवरोधहरू हटाउन दुवै देशका सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए। नेपाली जुट र स्टिलजन्य उत्पादनहरूले भारतीय बजारमा सामना गरिरहेका एन्टी डम्पिङ शुल्क, सेफगार्ड ड्युटी तथा गुणस्तर प्रमाणीकरणमा हुने ढिलाइले नेपालका कृषिमा आश्रित हजारौँ किसान र मजदुर प्रभावित भएको उनले बताए। पूर्वी नेपालका किसानले उत्पादन गर्ने जुट र यससँग सम्बन्धित उद्योगहरूलाई भारतीय बजारमा प्रतिस्पर्धी होइन कि सहयात्रीका रूपमा हेर्नुपर्ने उनको तर्क थियो।

भारतका बन्दरगाहहरू नेपालको वैदेशिक व्यापारको मुख्य प्रवेशद्वार रहेकाले रेलमार्ग, विद्युतीय कार्गो ट्र्याकिङ र एकीकृत जाँच चौकीहरूको सञ्चालनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ। भैरहवा, नेपालगञ्ज र दोधारा चाँदनी क्षेत्रलाई आधुनिक व्यापार तथा पारवहन केन्द्रका रूपमा विकास गर्न सके दुवैतर्फको व्यापार लागत घट्ने र आपूर्ति शृङ्खला सहज बन्ने उनले उल्लेख गरे। नेपालले आगामी पाँचदेखि सात वर्षको अवधिमा अर्थतन्त्रको आकार एक सय अर्ब अमेरिकी डलर पुर्याउने र प्रतिव्यक्ति आय तीन हजार डलरमा पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ।

व्यापारिक तथा नीतिगत अवरोधहरू हटाउन नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीचको सहकार्यलाई अझ सुदृढ गर्दै संयुक्त कार्यदल गठन गर्नुपर्ने प्रस्ताव पनि अध्यक्ष श्रेष्ठले अगाडि सारेका छन् जसले दुवै देशका सरकारलाई नीतिगत सुधारका लागि ठोस सुझाव दिन सक्नेछ।

यो समाचार सेयर गर्नुहोस्:
[sharethis-inline-buttons]

ताजा समाचार

सम्बन्धित समाचार