बाख्रापालनबाटै कमाउन सकिन्छ वार्षिक एक करोड

बागलुङ –

काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

व्यावसायिक रुपमा बाख्रापालन गर्दैआएका किसानले गत आवमा मात्र ९२५ खसीबोका बिक्री गरी ८६ लाख रुपैयाँ आम्दानी गरेका छन् । उनीहरुले सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्थामार्फत ती खसीबोका बिक्री गरेका हुन् ।

यस्तै वसन्त सामाजिक उद्यमी महिला विकास सहकारी संस्थाले १४० खसीबोका बिक्री गरी १४ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ । किसानले दुईवटै सहकारीमार्फत खसीबोका बिक्री गरेका हुन् । पछिल्लो तीन वर्षयता वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएको छ ।

गाउँका अधिकांश किसान सहकारीमा आबद्ध रहेका सप्तरंगी सहकारीका अध्यक्ष थमकुमारी श्रीसले बताक्इन् । दुवै सहकारीमा आवद्ध अधिकांश किसान बाख्रापालनमा संलग्न छन् । “धेरैले ४० देखि ५० वटासम्म पालेका छन् ,” अध्यक्ष श्रीसले भनिन्, “दुई÷चार बाख्रा त सबैले पालेका छन् ।” ‘हेफर इन्टरनेशनल’मार्फत तंग्राममा साना किसान सबलीकरण परियोजनाले किसानलाई आयआर्जनमा लाग्न प्रेरित गरेको हो । परियोजनाले किसानलाई उद्यममा लगाउन ‘बाख्रा उपहार’ कार्यक्रम सञ्चालन गरेको छ ।

परियोजनाले किसानलाई सीप र प्रविधिमा बाख्रा बिक्री वितरणमा सघाउँदै आएको छ । बाख्रा बिक्रीको जिम्मा सहकारीले लिएपछि किसान ढुक्क छन् । “हामीले पालेका खसीबोका सहकारीले खरीद गर्छ, उसैले बेच्छ,” स्थानीयवासी सुरेश घर्तीले भने। दक्षिण कोरियाबाट फर्केपछि व्यावसायिक बाख्रपालन शुरु गर्नुभएका घर्तीले हाल ४० बाख्रा पालेका छन् ।

मनग्य आम्दानी हुने भएपछि घर्ती जस्तै अन्य किसानले बाख्रापालनलाई विस्तार गर्दै लगेका छन् । तंग्राम, फापरखेतका मेखबहादुर पुन वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक बाख्रपालनमा लागेका हुन् । विदेशमा गर्ने जति मिहेनतले यही पर्याप्त आम्दानी गर्न सकिने पुनको विश्वास छ ।

मगर जातिको बसोबास रहेको तंग्राममा केही वर्षअघिसम्म बाख्रा पाल्ने चलन थिएन । हेफर इन्टरनेशनलको सहयोगमा भीमापोखरा युवा क्लब (बीवाईसी) बागलुङले ‘बाख्रा उपहार’ कार्यक्रम चलाएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । साप्ताहिक रुपमा बाख्रा खरीद गरेर बिक्री गर्ने गरेको वसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले बताइन् । उद्यममार्फत गाउँलेलाई आत्मनिर्भर बनाउन सहकारीले सहयोग गर्दै आएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here