यूरिया मलको अभाव भयो सरकार किसानले के गर्ने ?

चितवन – चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् ।

अनुदानित मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्काे मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन् । चितवनमा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल खपत हुने कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रवीन्द्र गौतम बताउनुहुन्छ ।

तर साउनदेखिनै अनुदानित मल अभाव हुँदा किसानले दोब्बर पैसा तिरेर एमोनियम सल्फेट(चिनी मल) खरीद गर्न बाध्य भएका प्रमुख गौतमको भनाइ छ ।

जिल्लामा साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले मलको आपूर्ति गर्नेगर्छ । तर दुवै स्थानमा मल सकिएपछि किसान समस्यामा छन् । जसका कारण मलको कालोबजारी हुनसक्ने आशङ्का बढेको छ ।

अनुदानित युरिया मलको मूल्य प्रतिबोरा रु ७६५ छ र तर गैर अनुदानित चिनीमल एक हजार ३०० माथि छ । मल अभाव भएपछि किसानलाई सहजताका लागि प्रतिबोरा रु २५ घटाएर एक हजार ३३५ मा एमोनियम सल्फेट बिक्री गरिरहेको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड चितवनका प्रमुख वुद्धिविनोद दाहाल बताउनुहुन्छ ।

चितवनमा साउन १५ सम्म मात्रै मल बिक्री भएको र त्यसपछि नआएको दाहाल बताउनुहुन्छ । विगतको स्टक मल सकिएको र नयाँ मल ल्याउने प्रक्रिया चलिरहेकाले यहाँ मल आउन अझै समय लाग्ने उहाँले बताउनुभयो ।

यद्यपि कृषि सामग्री कम्पनी लिमिटेड चितवनका अनुसार मल खरीद प्रक्रिया भएर भारतबाट पठाइ सकिएको र भन्सार आउन बाँकी रहेकाले ३,४ दिनमा नै मल आपूर्ति हुने दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here