चितवन ।
महान चाड तिहार नजिकिदै गर्दा सयपत्री तथा मखमली फूलको कारोबार चितवनमा पनि बढ्न थालेको छ । चितवन फूल खेतीमा बिस्तारै आत्मनिर्भर बन्दै गइरहेको छ । तिहारमा खपत हुने फूलको करिब ६० देखी ७० प्रतिशत चितवनमा उत्पादन हुदै आइरहेको र करिब २५ देखी ३० प्रतिशत बाहिरबाट आयत र त्यसमध्ये करिब २० देखी २५ प्रतिशत भारतबाट आयात हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द चितवनका वागवानी विकास अधिकृत धनबहादुर थापाले बताउनुभयो । उहाँले चितवनमा करिब ५० हजार मालाको कारोबार हुने मध्ये ४० हजार सयपत्री र १० हजार मखमलीको खपत हुने जानकारी दिनुभयो । यसपर्ष तिहारमा सयपत्री फूलको मूल्य ७० देखी ८० पर्न जाने व्यबसायी ले बताएका छन् ।
भरतपुरमा रहेको सयपत्री फूल समुहले यसवर्ष १.५ बिघा जग्गा ४५ हजारमा भारामा लिएर सामुहिक खेती गरेको छ । त्यसमध्ये २ कठ्ठामा मखमली र बाकी सबैमा सयपत्री फूल लगाइएको र करिब ५ लाखको कारोबार हुने समुहका अध्यक्ष ईष्वर कुमार श्रेष्ठले बताउनुभयो । उहाँले प्रत्येक वर्ष करोडौ रकमको फूल आयात हुुने नेपालमा राज्यले किसानलाइ आर्कषण गर्ने कार्यक्रम ल्याउन पर्नेमा जोड दिनुभयो ।
फूल खेतीमा युवाको आकर्षणः
चितवनमा फूल खेतीमा युवाहरुको आकर्षण बढेको छ । त्यसको उदाहरण बेटर चितवनका युवा सामाजिक अभियान्ताहरु हुन् । यसवर्ष बेटर चितवनका ७ युवाहरुले अजय डीसीको संयोजकत्वमा सामुहिक रुपमा माली दाइको नामबाट जग्गा भारामा लिएर भरतपुरमा ५ कठ्ठामा सयपत्री लगाएका छन् । युवाहरुको बिदेसिने दर बढिरहेकको बेला देशमा नै केही गर्नुपर्छ भन्ने सन्देश दिनको लागी फुल खेती शुरुवात गरिएको सदस्य गोकुल कडेंलले बताउनुभयो ।