कृषि डेली – हेटौंडमा अण्डाका लागि पालिएको लेयर्स कुुखुरामा एक्कासी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । अण्डा दिने समयमा दैनिक रुपमा ठुलो संख्यामा कुखुरा मरेपछि किसानको खोर रित्तिन थालेको छ ।
किसान चिरनदेवी गौतमले सात सय कुखुरा मरेको बताइन् । कुखुराले अण्डा पार्न थालेपछि ऋण तिर्ने आशमा बसेकी उनी झन् समस्या थपिएको बताउँछिन् । उनले भनिन्, ‘ऋणबाट उठौंला भनेको झन् डुबियो ।’
किसानको गुनासोपछि स्थानीय प्रशासन र पशुसेवा कार्यालयको टोलीले हेटौंडा ७ नागस्वतीमा रहेको किसानको खोर निरीक्षण गरेको छ । टोलीले निरीक्षणसँगै रोगको संक्रमण उच्च रहेको आशंका गरिएका ५ वटा खोरबाट कुखुराको नमुना संकलन गरेको छ ।
टोलीले दीपेन्द्र गौतमले सञ्चालन गरेको डीएस पोल्ट्रि फर्म, नवराज सिलवाल र कुवेरप्रसाद चौलागाईंको फर्म, अनिश पोल्ट्रि फर्म र दुर्गा महतको खोरबाट नमुना संकलन गरेको हो ।
गौतमले सञ्चालन गरेको खोरमा २ हजार ८ सय चल्ला हालिएकोमा ७ सय, सिलवालले ४ हजार पालेकोमा २५ सय, चौलागाईले २४ सय र अनिष पोल्ट्रिको ६ हजार र महतको खोरबाट अण्डा दिने अवस्थाका कुखुरा मरेको उनीहरुले बताए । निरीक्षणपछि प्रशासनले नमुना संकलन गरेको ठाउँका कुखुराजन्य उत्पादन बिक्रीमा रोक लगाइएको छ ।
किसानका अनुसार गाउँका सबै किसानका खोरमा एकै प्रकारको समस्या रहेको छ । संक्रमणको कारण रामबहादुर गौतमले पालेको ३ हजार कुखुरा सबै मरेको स्थानीयले बताए । मरेको कुखुरा व्यवस्थापनमा निकै समस्या भएको किसानको भनाइ छ ।
पशु कार्यालयका डाक्टर सरोज खतिवडाका अनुसार संकलित नमुना चितवन पठाइने र रिपोर्टका आधारमा अन्य काम अगाडि बढ्नेछ । रिपोर्ट आउनका १० दिन लाग्ने उनले जानकारी दिए । निरीक्षण टोलीलाई किसानले समस्याको छिटो समाधान खोज्न आग्रह गरेका छन् । – अनलाइनखबर