काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आउँदो दशैँका लागि खसी, बोका र च्याङ्ग्रा खरिद प्रक्रिया सुरु गरेको छ । खाद्य कम्पनीले यस वर्षको दशैँका लागि च्याङ्ग्रा मुस्ताङबाट दुई हजारवटा र खसी वा बोका दाङको तुलसीपुरबाट पाँच सयवटा र हेटौँडाबाट पाँच सयवटा ल्याउने गरी तयारी गरेको हो ।
खाद्य कम्पनीका अनुसार चाडपर्वमा मासु बढी खपत हुने भएकाले बजारमा भाउ नियन्त्रण गर्ने उद्देश्यका साथ खाद्य व्यापार कम्पनीले खसी, बोका र च्याङ्ग्रा खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । यस वर्ष दुई हजार च्याङ्ग्रा र एक हजार खसी, बोका ल्याउने गरी कम्पनीले सम्बन्धित जिल्लामा रहेका कार्यालयबाट टेन्डर गरेर खरिद प्रक्रिया सुरु गरेको खाद्य कम्पनीले जनाएको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले खाद्य कम्पनीले ल्याएका खसी, बोका र च्याङ्ग्राले उपत्यकावासी उपभोक्ताको माग पूर्ति गर्ने नभएर मूल्य नियन्त्रण गर्ने उद्देश्य रहेको पनि जानकारी दिनुभयो । दशैँको मासु बढी खपत हुने भएकाले दशैँका नाममा भाउ मनपरी नहोस् भनेर नै खाद्य कम्पनीले थोरै ल्याएर बजार भाउ नियन्त्रण गर्दै आएको उहाँको भनाइ छ ।
खाद्य कम्पनीले खरिद गरेका खसी, बोका र च्याङ्ग्राको मूल्य अन्य बजारमा पाइने भन्दा सस्तोमा बिक्री गर्ने जनाएको छ । सूचना अधिकारी सुवेदीले बजारको भन्दा सस्तो मूल्यमा मासुका लागि खसीबोका बिक्री गर्ने गरी मूल्य निर्धारण गरेका छौँ भन्नुभयो ।
कम्पनीले हरेक वर्ष थापाथलीस्थित बाग्मती अञ्चल कार्यालय परिसरबाट दशैँका लागि सहुलियत मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण गर्ने गरेको छ । कम्पनीले खसी, बोका र च्याङ्ग्रा खरिदका लागि पाँच करोड ५८ लाख ८२ हजार रुपियाँ बजेट विनियोजन गरेको जनाएको छ ।
सो कम्पनीले अघिल्लो वर्ष तीन हजार खसी, बोका तथा च्याङ्ग्रा खरिदका लागि तीन करोड ४९ लाख ३० हजार रुपियाँ बजेट विनियोजन छुट्याएको थियो ।
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.