काठमाडौं । नेपालमा लेबल बीनाका विषादीको खुल्ला विक्रि भएको पाइएको छ । ग्रिन रिभर इन्डस्ट्रिज प्रा.लि चिनले उत्पादन गरेको र गोर्खा सिड्स तथा एग्रो ट्रेडर्स, कलंकी काठमाडौंले नेपालमा बिक्रि गर्ने विषादीमा खतराको लेबल (संकेत) नपाइएको हो ।
विश्व स्वास्थ्य संगठन तथा विषादी ऐन तथा त्यसलाई नियमन गर्ने विभिन्न कानुनले विषादी बिक्रिका लागि विभिन्न मापदण्ड बनाएको छ । तर, ग्रिन रिभर इन्डस्ट्रिज प्रा.लि चिनद्धारा उत्पादित र गोर्खा सिड्स तथा एग्रो ट्रेडस काठमाडौंले बिक्रि गरेको विषादीमा त्यसले मानव स्वास्थ्यमा पार्ने असरको जानकारी नराखीकन बजारमा पठाएको पाइएको हो । विषादीलाई नियमन गर्ने कानुन अनुसार यस्तो कार्य गैह्रकानुनी मानिएको छ ।
विश्व स्वास्थ्य संगठन तथा नेपालमा विषादी नियन्त्रणका लागि बनेका कानुनले विषादी बिक्रि गर्दा खतराको संकेत उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विषादीलाई त्यसले मानव स्वास्थ्यमा पार्ने असरको आधारमा चार भागमा वर्गिकरण गरेको छ । जसअनुसार रातो चिन्ह्र भएको विषादी मानव स्वास्थ्यका लागि अत्यन्त खतरनाक, पहेँलो चिन्ह भएको विषादी खतरनाकको सूचक, निलो चिन्ह भएको विषादी मध्यम रुपले खतरनाक, हरियो चिन्ह भएको सामान्य रुपले खतरनाक गरि वर्गिकरण गरिएको छ । तर रातो चिन्ह भएका विषादी नेपालमा बिक्रि गर्न प्रतिवन्ध लगाइएको छ ।
गोर्खा सिड्स तथा एग्रो ट्रेडर्सले बिक्रि गरेको विषादीमा खतराको सूचक चिन्ह नराखिकन बजारमा पठाउनु गैरकानुनी भएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सो कम्पनीलाई कारबाहीका लागि अनुसन्धान प्रकृया अगाडी बढेको समेत केन्द्रले जनाएको छ ।