काठमाडौं । आज असार १५ गते राष्ट्रिय धान दिवस । यस वर्षको राष्ट्रिय धान दिवसको नारा, ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ रहेको छ ।
२०६१ सालदेखि हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।