कास्की । गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.हरिबहादुर केसीले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रमको कार्यान्वयन नै आफ्नो मुख्य प्राथमिकता हुने बताउनुभएको छ ।
संघीय कृषि मन्त्रालयको प्रवक्ता रहनुभएका डा.केसी गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा गरिबी निवारण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्एपछि यस्तो बताउनुभएको हो ।
गण्डकी प्रदेशले कृषिमा आत्मनिर्भर हुनका लागि अबलम्बन गरिएका कार्यक्रमलाई नै आफूले निरन्तरता दिने उहाँको भनाई छ । पहाडी भू रहेको गण्डकी प्रदेशमा मुख्य गरी तरकारी, फलफूल तथा पशुपंक्षी पालनका कार्यक्रमलाई प्राथमिकता दिने उहाँको भनाई छ । मनाङ र मुस्ताङको कृषि प्रवद्धनका लागि यान्त्रीकरणमा जोड दिने डा. केसीको भनाई छ ।
गण्डकी प्रदेशका ११ जिल्लामा संघ, प्रदेश र स्थानीय तहका कार्यक्रमलाई दोहोरिन नदिनका लागि प्रदेशले अनुगमन गर्ने उहाँले बताउनुभयो । अनुगमनका लागि हरेक जिल्लामा करारका कृषि प्राविधिक सहितको कार्यालय स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेशलाई बीउँमा निर्भर बनाउनका लागि खाद्यान्न बीउको भण्डारण तथा संरक्षणका कार्यक्रम संचालन गरिएको उहाँको भनाई छ ।
खाद्यान्न बीउ संरक्षणमा प्रदेशले राम्रो प्रगती गरेको उहाँले बताउनुभयो । संघीय सरकार सँगको सहकार्यमा गण्डकी प्रदेशले गरिबि निवारणका कार्यक्रम पनि संचालन गरेको उहाँले जानकारी दिनुभयो । अघिल्ला आर्थिक वर्षमा जनशक्ति अभावका कारण पूर्ण बजेट खर्च हुन नसकेको भन्दै यो आर्थिक वर्षमा त्यो समस्या नआउने बताउनुभयो । करारमा जनशक्ति राखेर मन्त्रालय यो वर्ष बजेटको पूर्ण खर्च गर्ने योजनामा रहेको उहाँको भनाई छ ।