काठमाडौं, जेठ १० – नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको आधुनिकीकरण र उत्पादनको व्यवसायीकरणको क्षेत्रमा नेपाललाई सहयोग गर्ने बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कृषिप्रधान देशको आर्थिक समृद्धि हासिल गर्न यस क्षेत्रको आधुनिकीकरण गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “नेपालको कृषि क्षेत्रको प्रवद्र्धन र विकासका लागि आफ्नो देश सबै खालको सम्भाव्यता अध्ययन गरी सहयोग गर्न तयार छ ।”
कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको कृषिको आधुनिकीकरण र पर्यटन विकासका लागि दुई देशबीच बलियो सहकार्यको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
द्विपक्षीय व्यापारलाई अभिवृद्धि गर्न, व्यापार र वाणिज्यमा हुने नवीन कुराको आदानप्रदान गर्न, दुई देशको व्यापार र लगानीको क्षेत्रमा संयुक्त अनुसन्धान र प्रकाशनको काम अगाडि बढाउन, आधुनिक प्रविधिको आदानप्रदान गर्न र द्विपक्षीय व्यापारिक भ्रमणलाई बढावा दिनु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभएको चेम्बरले जनाएको छ ।