झापा – नेपालको कृषिजन्य उत्पादन अलैँचीका विषयमा चीनले चासो देखाएको छ । चीनमा उत्पादन हुने आयुर्वेदिक औषधीमा प्रयोग हुने भएकाले चीनले नेपालको अलैँचीप्रति चासो देखाएको हो ।
नेपालको अलैँचीबारे अध्ययन गर्न चिनियाँ टोलीले पूर्वी नेपालको भ्रमण गरेको छ । चाइनिज मेडिसिन साइन्सका अध्यक्ष लीन ज्याङ्घिन नेतृत्वमा आएको सात सदस्यीय चीनियाँ टोलीले झापा, इलाम, पाँचथर र ताप्लेजुङ भ्रमण गरेको हो ।
टोलीले ताप्लेजुङमा पुगेर अलैँची किसानहरुलाई भेट्नुका साथै अलैँचीको बोटसम्मै पुगेर अध्ययन तथा अवलोकन गरेको छ । चीनियाँ टोलीले नेपाल अलैँची व्यवसायी महासंघका पदाधिकारीसँग आइतबार बिर्तामोडमा छलफलसमेत ग¥यो । नेपालको अलैँची भारत हुँदै विश्व बजारसम्म पुगे पनि चीनमा भने अहिलेसम्म नगएको अलैँची व्यवसायीहरुले बताएका छन् ।
एयर कार्गोबाट अलैँची चीन पठाइने अलैँची व्यवसायी महासंघले जनाएको छ । अलैँची व्यवसायी महासंघका अनुसार विश्वको ७० प्रतिशत अलैँची उत्पादन नेपालमा हुन्छ ।