spot_img

ब्यवसायिक बन्न सके फूलबाट पनि राम्रो कमाइ हुन्छ

महोत्तरी,

चैत ५ – फूलको माग बढेसँगै महोत्तरीमा फूलको व्यवसायिक खेती बढन थालेको छ । घर वरिपरि सजावटका लागिमात्र लगाइने फूल खेतीलाई अहिले महोत्तरीका नागरिकले व्यावसायिक रुप दिन थालेका हुन् ।

दुई वर्षअघि करेसा वरिपरिको फूलबाटै राम्रो आम्दानी पाइएपछि त्यसयता लगातार फूलखेती बढाउँदै यसपालि तीन कट्ठामा पुर्या‍इएको महोत्तरीका राम चौधरीले बताउनुभयो ।

महोत्तरीको बर्दिवास नगरपालिका–७ मनहरीपुरकी बिना खत्रीले पनि दुई वर्षयता फूल खेती बढाउँदै लानुभएको छ । “पहिले पहिले त घरको शोभा र यसो घरमै पूजाआजा गर्न केही बोट फूल लगाउने गरेकी थिए”, खत्रीले भन्नुभयो, “पोहोर तिहारताका व्यापारी घरै आएर नसोचेको रकम दिँदै फूल मागेपछि त खेती नै गरौँ भन्ने लागेर दुई कट्ठाजतिमा फूल लगाउन थालेकी हुँ ।” यसपालि त असोज पहिलो सातामा भएको स्थानीय तहको चुनाव, तिहार, मंसिरको चुनाव र भर्खरै बितेको महाशिवरात्रि पर्वमा गरी फूलबाटै रु २५ हजारभन्दा बढी रकम लिइसकिएको खत्रीको भनाइ छ ।

कुनै व्यावसायिक प्रयोजनबिना नै शोभाका लागि लगाइएको घर करेसाको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई/चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणी महिलाको भनाइ छ । यसपालि असोजयता हालसम्म फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ५० वटाजति बोटका सयपत्री पूmलबाट रु सात हजार रकम दिइसकेका बर्दिवास–२ की पवित्रा खड्काले बताउनुभयो । फूलत आम्दानीकै स्रोत हुने बुझेपछि पवित्रासँगै उहाँका छिमेकीले पनि अब व्यावसायिक रुपमै फूल खेती गर्ने निर्णय गरेका छन् । “चाडपर्वका बेला राम्रो आम्दानी हुने रैछ, अब त राम्रो थुँगा फुल्ने सयपत्रीका बिरुवा समयमै ल्याएर लगाउँछु”, पवित्राकी छिमेकी गायत्री शर्माले भन्नुभयो, “यसपालि एक कट्ठामा फूल लगाउने तयारी गरेकी छु ।”

अचेल फूल खोज्ने ग्राहकको ग्रामीण बस्तीमा लर्को नै देखिने गरेको छ । जिल्लाका बस्ती बस्तीमा फूल खोज्न हिँड्ने व्यापारीले दिनहुँजसो फूल काठमाडाैं पठाइने गरिएको बताएका छन् । तराईमा विवाहमा दुलहा चढ्ने गाडी सजाउन फूलका मालामा निकै खर्च गर्ने चलन बाक्लिएको छ जिल्लाकै फूल व्यापारी जितु भण्डारी मालीले भन्नुभयो, “विवाहका लगन बाक्लिएसँगै फूलको माग बढ्छ, त्यस्तो बेला ओरपर नै फूल पुर्‍याउन धौ–धौ पर्छ, अरु बेला राजधानीतिर पठाइन्छ ।”

खासगरी तिहारलगायतका पर्वमा फूल खोज्नेहरुले मोलमोलाई नगरिकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिनेगरी फूल खेती गर्न आफ्नो बस्ती/टोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएका भङ्गाहा नगरपालिका–५ की कमला गिरीको भनाइ थियो ।

जिल्लामा फूलको व्यावसायिक खेती गरिने पूर्वचलन नभए पनि चार/पाँच वर्षयता व्यावसायिक रुपमै फूलखेती गरिन थालिएको छ । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजन हुने धार्मिक अनुष्ठान एवम् पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती शुरु गरिएपछि जिल्लामा थप एउटा आर्जनको बाटो खुल्न लागेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत ओमप्रकाश बिराजीले बताउनुभयो ।

दश नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेको जिल्लामा पछिल्ला पाँच वर्षयता हाल बलवा नगरपालिकाको धमौरा, बनौटा, बन्चौरी र पडौल बस्तीमा भने किसानले व्यावसायिक रुपमै फूल खेती गर्दै आएका कार्यालयले जनाएको छ । ती बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले त्यहाँको उत्पादन व्यापारीको रोजाइमा पर्ने गरेको बताइन्छ । खासगरी यी बस्तीमा उत्पादित पूmल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पुग्ने गरेको किसान र जिल्ला कृषि विकास कार्यालयले जनाए ।

पछिल्लो पटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ संकलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको संख्या ह्वात्तै बढेको वरिष्ठ कृषि विकास अधिकृत बिराजीले जानकारी दिनुभयो । फूलखेतीबारे रुचि देखाउनेमा महिलाको संख्या अधिक रहेको कार्यालयले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:
[sharethis-inline-buttons]

ताजा समाचार

सम्बन्धित समाचार