कृषि डेली – ललितपुरमा ‘राष्ट्रिय प्राङगारिक कृषि मेला सुरु भएको छ । प्राङगारिक कृषि पद्धति अपनाई माटो र जीवन बचाउन आह्वान गर्दै शुक्रबारबाट ललितपुरको जावलाखेलस्थित फुटबल मैदानमा राष्ट्रिय प्राङगारिक कृषि मेला आयोजना गरिएको हो ।
प्राङगारिक कृषि खेतीको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ मेला आयोजना गरिएको वरिष्ठ कृषि अनुसन्धान अधिकृत बाशुदेव शर्माले जानकारी दिनु भयो ।
कृषि विभागको संयोजनमा आयोजना गरिएको मेलामा प्राङगारिक कृषि खेतीबारे जानकारी दिने १ सय २५ वटाभन्दा बढि स्टल राखिएका छन । तीन दिनसम्म चल्ने मेलाको मुख्य आकर्षणको रुपमा ताजा कृषि उपज, प्रशोधित कृषि उपज, रैथाने बालीको खाद्य परिकार, कृषि सामग्री र प्रविधिहरु रहेको पनि बताइएको छ ।
मेलामा करिव २५ लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा पनि गरिएको छ । प्राङगरिक कृषि खेतीमा जोड दिन आह्वान गर्दै सरकारले १२ वर्षदेखि मेलाको आयोजना गर्दै आएको छ ।