चितवन –
चितवनमा आजदेखि इन्टरनेशनल पोल्ट्री सिम्पोजियम शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय रामपुरको आयोजना तथा नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि सङ्गठन, हेफर इन्टरनेशनल र विश्वविद्यालय अनुदान आयोगको सहआयोजनामा पोल्ट्री सिम्पोजियम आयोजना गरिएको हो ।
सिम्पोजियममा नौ देशका तीन सयभन्दा बढी वैज्ञानिक सहभागी छन् । मूल आयोजक समितिका अध्यक्ष एवं कृषि तथा पशु विज्ञान विश्वविद्यालयका डिन प्रा डा शारदा थपलियाका अनुसार सम्मेलनमा कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालनजस्ता विधामा ११५ वैज्ञानिक र अनुसन्धानमूलक कार्यपत्र पेश हुँदैछन् ।
गोष्ठीमा नेपाल, भारत, जापान, अस्ट्रेलिया, जर्मनी, बङ्गलादेश, अमेरिका, भूटान र इजिप्टका वैज्ञानिक सहभागी छन् । विभिन्न विश्वविद्यालयका विज्ञ, कुखुरापालन क्षेत्रमा अनुसन्धान गरिरहेका विज्ञ, व्यावसायिक किसानसहित यस क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिको सहभागिता छ । ‘खाद्य स्वच्छता र सुरक्षाका लागि पोल्ट्रीको माग परिपूर्ति’ नाराका साथ सङ्गोष्ठी शुरु भएको हो । कार्यक्रममा भारतीय पोल्ट्री साइन्स एशोसिएशनका उपाध्यक्ष प्रा डा देवेन सापकोटा, जापनिज पोल्ट्री साइन्स एशोसिएशनका उपाध्यक्ष डा नाओकी गोतो, पोल्ट्री अनुसन्धान फाउण्डेशन अस्ट्रेलियाका निर्देशक पिटर गु्रभ्सलगायत विज्ञ सहभागी हुनुभएको छ ।
भारतीय कृषि अनुसन्धान परिषद्÷केन्द्रीय कुखुरा अनुसन्धान संस्थानका निर्देशक सुनिलचन्द्र गिरीलगायत विदेशी वैज्ञानिक आउने क्रम जारी रहेको थपलियाले बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कुखुरापालन क्षेत्रको अध्ययन र अनुसन्धान गरी कम लागतमा उत्पादन बढाउन सङ्गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नुभयो । कम खर्चमा सर्वसाधारणलाई प्रोटिन उपलब्ध गराउन कुखुरापालन क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले यसको विकासका लागि प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
नेपालको कूल ग्रार्हस्थ्य उत्पादनको करीब चार प्रतिशत र कूल कृषि गार्हस्थ्य उत्पादनको करीब आठ प्रतिशत हिस्सा कुखुरापालन क्षेत्रले ओगटेको भन्दै उहाँले कुखुरापालन क्षेत्रबाट करीब एक लाख ५० हजार जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएको बताउनुभयो । सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले नेपाल कुखुरापालन उत्पादनमा आत्मनिर्भर रहेको भन्दै सो गोष्ठीले उत्पादन वृद्धि र व्यावसायिकीकरण गर्नमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । देशको कूल उत्पादनको आधाभन्दा बढी कुखुरापालन उत्पादन हुने चितवनमा सङ्गोष्ठी हुनुले यहाँका कृषकसमेत लाभान्वित हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, कृषि तथा पशु विकास मन्त्रालयका सचिव प्रकाश माथेमा, डा होमबहादुर बस्नेत, विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिलगायतले बोल्नुभएको थियो । तीन दिनसम्म सञ्चान हुने सो सङ्गोष्ठीमा लिखित र मौखिक कार्यपत्र प्रस्तुत गरिनुका साथै त्यस माथि छलफल हुनेछ ।